राष्ट्रियसभाको बैठकमा गृहमन्त्रीले जवाफ दिने, पाँच समिति एकै दिन सक्रिय 

बिहीबार, साउन २१, २०८३

सङ्घीय संसद, राष्ट्रियसभाको बैठक आज बस्दै छ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मनत्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । 

सङ्घीय संसद सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन् ।  राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्नेछन् ।

पाँच समितिको बैठक बस्दै 

यसैगरी, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । प्राप्त सूचनाअनुसार, अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दै छ ।

बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ । बैठक बिहान ११ः०० बजे बस्दै छ । 

अपराह्न १ः०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल हुनेछ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

बिहान १०ः०० बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० बजे बस्दै छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्