सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेश प्रदेशमा हुने आन्दोलन र प्रदर्शनहरूमा सुरक्षा निकायबाट हुने बल प्रयोगको शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मधेश र थरुहट क्षेत्रका आन्दोलनहरूमा राज्य संयन्त्र नागरिकप्रति असहिष्णु बन्ने गरेको आरोप लगाए। उनले २०६३ सालदेखि आफू संसद्मा निरन्तर रहेको उल्लेख गर्दै मधेशमा हुने साना-तिना प्रदर्शनमा समेत लाठी र अश्रुग्याँसको सट्टा सोझै गोली चलाउने प्रवृत्तिको विरोध गरे।
“२०६३ सालदेखि म सांसद छु, मेरो प्रश्न राज्यसँग छ- मधेशमा केही समुदायको आन्दोलन होस् वा थरुहट आन्दोलन, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी र टियर ग्यास किन चल्दैन?” सांसद सिंहले भने ।
सांसद सिंहले प्रहरी प्रशासनको तालिम र मनोविज्ञानमाथि नै औँला ठड्याएका छन्। सुरक्षाकर्मीलाई दिइने तालिमको कमी वा मधेशप्रति हेर्ने दृष्टिकोणमै समस्या रहेको उनको तर्क थियो।
मधेशमा हुने विरोध प्रदर्शनहरूलाई राजनीतिक र संवादको माध्यमबाट हल गर्नुको सट्टा हतियारको बलमा दबाउन खोज्दा राज्य र नागरिकबीचको दूरी अझ बढ्दै गएको उनको भनाइ थियो।