आपूर्ति मन्त्रालयका सचिवले बजारमा ग्याँस अभाव हुनुको यस्तो कारण सुनाए 

मंगलबार, साउन १९, २०८३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभई वितरण प्रणालीमा देखिएको समस्यका कारण अभाव बजारमा देखिएको बताएका छन् ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।

आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उनले बताए । पूर्ण १४ केजीको ग्यास वितरण गर्न थालेपछि बजारमा एक्सासी सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप बढेको उनको भनाई छ ।

उनले पछिल्लो तीन महिनामा २३ लाख सिलिण्डर रिफिल नभएको बताए । तीन महिनाको तथ्यांक विश्लेषण गर्दा कम्तीमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर वितरण भएको उनले जानकारी दिए ।

आधा सिलिन्डरबाट पूर्ण सिलिण्डर वितरण गर्न थालेपछि एकैपटक ठूलो संख्यामा सिलिण्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उनको दाबी छ । यसअघि मासिक ४६–४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग रहेकोमा हाल बढेर करिव ६० हजार मेट्रिक टन पुगेको उनले बताए । उनले इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिए ।

उनकाअनुसार हाल ६० हजार मेट्रिक टनको पूर्ण आपूर्ति नभएपनि करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १३:५१
प्रतिक्रिया दिनुहोस्