सोसल मिडिया
युनिकोड
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भई उपचाररत थप अर्का युवाको पनि मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १० साउन राति गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ)मा उपचारका क्रममा मृत्यु भएको हो।
रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो। प्रारम्भिक उपचारपछि विराट नर्सिङ होमबाट थप उपचारका लागि उनलाई शुक्रबार काठमाडौं लगिएको थियो। उपचारका क्रममा उनको बायाँ खुट्टा काट्नुपरेको थियो।
१० साउनमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए। घाइतेमध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।
उक्त घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।
यता, देवानगञ्ज गोलीकाण्डका अर्का गम्भीर घाइते देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको हात र कोखमा गोली लागेको थियो। उनलाई नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो।
यसैगरी, देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।