दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राप्रपा त्यागेका धवलले निकाले यस्तो विज्ञप्ति 

सोमबार, साउन १८, २०८३

नेता धवलशमशेर राणाले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गरेका छन् । अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु गलत भएको जनाउँदै राणाले आज प्रेस विज्ञप्ति जारी गरेर प्रसाईंको रिहाइको माग गरेका हुन् ।

प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले आइतबार राति पक्राउ गरेको थियो । पक्राउ पर्नुअघि प्रसाईंले आफ्नो भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर राजसंस्था र नेपाललाई हिन्दु राष्ट्र कायम गर्न नयाँ अभियान घोषणा गरेका थिए । त्यस क्रममा उनले सरकारको आलोचनासमेत गरेका थिए ।

अभियानको घोषणा गरेको केही घण्टामै प्रसाईंलाई पक्राउ गरिएको थियो । स्वतन्त्र अभिव्यक्ति दिएका आधारमा कसैलाई पक्राउ गर्नु गलत भएको बताउँदै राणाले प्रसाईंको रिहाको माग गरेका हुन् ।

‘विश्वव्यापी रूपमा स्थापित मानवअधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ’, राणाले विज्ञप्तिमा भनेका छन्, ‘उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १०:५४
प्रतिक्रिया दिनुहोस्