सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। बैठकले दिवंगत नेताको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ।
शोक प्रस्तावमा श्रेष्ठले विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेको उल्लेख गरिएको छ। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उनले करिब छ वर्ष जेल जीवनसमेत बिताएका थिए।
श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए।
उनले उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रालयको नेतृत्व गरेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतक तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति पनि थिए। साथै, १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एकका रूपमा उनको महत्त्वपूर्ण भूमिका रहेको कांग्रेसले स्मरण गरेको छ।
वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठको राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा र सार्वजनिक जीवनमा पुर्याएको योगदान पार्टीका लागि सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ। उनको निधनबाट पार्टीले एक अग्रज, अनुभवी र नेतृत्वदायी राजनीतिज्ञ गुमाएको निष्कर्ष बैठकले निकालेको छ।
बैठकले शोक कार्यक्रमसमेत सार्वजनिक गरेको छ। निर्णयअनुसार साउन १३, १४ र १५ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ। साउन १४ गते देशभरका पार्टी कार्यालय बन्द रहनेछन् भने १३ दिनसम्म शोक पुस्तिका राखिनेछ। स्वर्गारोहणको १३औँ दिन गृहजिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्ला स्तरमा शोकसभा आयोजना गरिने निर्णय पनि गरिएको छ।