सोसल मिडिया
युनिकोड
नागढुंगा सुरुङमार्गको उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका छन् ।
लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ । त्यसअघि स्थानीयले आफ्नो समस्या समाधानको माग गर्दै प्रदशर्नसमेत गरेका थिए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि, सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरूसमेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब ५ दशमलव ५ किलोमिटर पुग्छ ।
उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ । सुरुङमार्ग उपत्यकाको नागढुंगाबाट सिस्नेखोला निस्किन्छ ।