सोसल मिडिया
युनिकोड
राष्ट्रिय सभाअन्तर्गतका तीन वटा विषयगत समितिको बैठक आज सोमबार बस्ने भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै सम्बन्धित समितिका सदस्य र सरोकारवालाहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको हो।
बिहान ११:०० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक समितिको कक्षमा बस्नेछ। उक्त बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल र अन्य विविध विषयमा विचारविमर्श हुनेछ।
त्यसैगरी, दिउँसो १:०० बजे सिंहदरबारस्थित हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७औँ बैठक बस्दै छ। यस बैठकमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षासहित विविध विषयमा छलफल गरिने जानकारी दिइएको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको ७६०औँ बैठक दिउँसो २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र अन्य विविध विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।