सदनमै एमाले सांसदले घन्काए मूर्दावादको नारा, सदन र सडकमै आन्दोलन

शुक्रबार, असार २६, २०८३

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार महरले संसदमै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् । 

गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको बताए । ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्‍याएको छ । सुकुम्बासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ,’ महरले भने । 

सांसद महरले निरंकुश राणा शासनको अन्त्यका लागि योगमाया न्यौपानेले जलसमाधि लिएको स्मरण गराए ।  उनले गणेश नेपालीको हत्या सरकारले गरेको बताए । 

‘योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हत्याको जिम्मेवार यो सरकार नै हो,’ महरले भने । 

आफ्नो भनाइ टुंग्याउने क्रममा उनले ‘यो सरकार मुर्दावाद’ भने । 
 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १४:५४
प्रतिक्रिया दिनुहोस्