सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले इतर समूहको सम्पर्क कार्यालयमा विस्तारित बैठक बोलाएका छन् । नेता खड्काले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएको नेता मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ । पूर्वसभापति शेरबहादुर देउवापक्षका एक नेताका अनुसार विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि/मिति तय गर्ने सम्भावना छ ।
यसअघि गत शुक्रबार खड्कानिवासमा इतरपक्षका नेताहरूको बैठक बसेको थियो । बैठकमा नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय (डिना), रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत सहभागी थिए । बैठकले असारभित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो ।