माघदेखि महंगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारीले कसे पलेंटी 

शुक्रबार, असार १९, २०८३

सरकारले अनिवार्यरुपमा दिनुपर्ने महंगी भत्ता छ महिना (माघ) देखि रोकेपछि प्रेस काउन्सिलका कर्मचारीले कार्यालय बन्द गरेर धर्ना दिएका छन्।

चालु आर्थिक वर्ष सकिन लाग्दासमेत महंगी भत्ता प्राप्त हुन नसकेको, मन्त्रालयमासमेत मौखिक, लिखित जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै धर्नामा बस्नु परेको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए। ‘हामीले मन्त्रालयमा जानकारी गराउँदा पनि सुनुवाइ हुन सकेको छैन। मन्त्रालयबाट हुन्छ भन्ने मात्र जवाफ आउँछ। किन रोकिएको भन्ने आउँदैन’, उनले भने।

सरकारलाई दबाबस्वरुप बिरोध गर्न थालेको तीन दिन भए पनि दुई दिनदेखि भने कार्यालय बन्द गरेर धर्ना दिइएको खनालले बताए। ‘हाम्रा माग सुनुवाइ नभएपछि धर्ना दिने अवस्थामा पुगेका छौँ’, उनले भने।

सरकारले सरकारी कर्मचारीलाई मासिक पाँच हजार महंगी भत्ता दिन दिइरहेको छ। अन्य कर्मचारीले नियमित रुपमा महंगी भत्ता पाउँदा काउन्सिलमा भने छ महिनादेखि रोकिएको छ।

काउन्सिलका कर्मचारीले यतिमात्र होइन। बढेको तलबसमेत समयमै पाउन सकेनन्। अघिल्लोपटक तलब बढ्दा साउनदेखि बजेटको तलब पाउनुपर्ने भए पनि काउन्सिलका कर्मचारीलाई भदौदेखि मात्र खुवाएको प्रवक्ता खनालले बताए।

अहिले २१ प्रतिशत बढेको तलब पनि समयमै नखुवाउने हो कि भन्ने शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ। ‘भत्ता रोकिएको मात्र होइन। यहाँ तलबसमेतमा विभेद भएको छ। अघिल्लोपटक बढेको तलब साउनदेखि खुवाउनुपर्ने भए पनि भदौदेखि मात्र खुवाइएको थियो। अहिले बढेको तलब पनि समयमै नखुवाउने हो कि भन्ने छ’, उनले भने ‘त्यसका लागि पनि दबाबस्वरुप यो धर्ना गरिएको छ।’

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्