सोसल मिडिया
युनिकोड
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट आज (बिहीबार) सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले सो रिट खारेज गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिट बिहीबार सुनुवाइका लागि तोकिएको थियो।
असार १० गते पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिट सुनुवाइ भएको थियो।
उक्त इजलासले व्यापारी दिपक भट्ट र सुलभ अग्रवाललगायतविरुद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो।
असार ११ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ। बिहीबारमात्रै उनीविरुद्ध विशेष अदालतले ६ दिनको म्याद थपेको छ।