कोशी प्रदेशमा बजेटको लफडा, कांग्रेस-एमालेका छ भाईले मन मिलाउने

बुधबार, असार १७, २०८३

कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर चर्किएको विवाद मिलाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले ६ सदस्यीय अनौपचारिक कार्यदल गठन गरेका छन् ।

बजेट विनियोजन असन्तुलित भएको भन्दै सत्तारूढ दलकै सांसदहरूले बजेट असफल गराउने चेतावनी दिएपछि प्रदेशसभा बैठक लगातार प्रभावित हुँदै आएको छ । सहमति नजुट्दा असार १६ गते मंगलबारका लागि बोलाइएको बैठक समेत आगामी असार १८ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बजेटको गतिरोध अन्त्यका लागि गठित कार्यदलमा कांग्रेसका तर्फबाट हिमाल कार्की, गोपाल तामाङ र विनोद बान्तवा तथा एमालेका तर्फबाट रामबहादुर मगर, रमेश बस्नेत र होमबहादुर थापा रहेका छन् ।

यो कार्यदललाई असन्तुष्ट सांसदहरूका व्यावहारिक र प्राविधिक माग सम्बोधन गरी बजेटलाई सर्वस्वीकार्य बनाउने ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ । असन्तुष्ट सांसदहरूले योजनाहरूको बजेट बाँडफाँट न्यायसङ्गत नभएको भन्दै विनियोजन विधेयककै अनुसूची परिमार्जन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

मंगलबार दिनभर भएको छलफलमा बजेटको सन्तुलन गुमेको विषयमा दुवै पक्ष सहमत देखिए पनि प्राविधिक रूपमा कसरी सच्याउने भन्ने निष्कर्ष निस्किएको छैन । कार्यदलले मंगलबार बेलुका नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि यसबारे छलफल गरेको छ ।

गत असार १ गते आर्थिक मामिला मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभामा ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्