सोसल मिडिया
युनिकोड
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नामावली सच्याउँदै अद्यावधिक सूची सार्वजनिक गरेको छ ।
निर्वाचन परिणाम प्रकाशनका क्रममा भएको प्राविधिक त्रुटि सच्याउँदै जनजाति क्लस्टरतर्फ ध्रुवकुमार थापा मगर र गण्डकी प्रदेशको प्रादेशिक (भूगोल) तर्फ पूजा बाँस्तोलालाई निर्वाचित घोषणा गरिएको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रारम्भिक नतिजा प्रकाशन गर्दा जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषणा गरिएको थियो । तर, मत परिणाम तथा उम्मेदवारी दर्ताका क्रममा पेस भएका कागजात र प्रमाणहरूको अध्ययनपछि ध्रुवकुमार थापा मगर नै निर्वाचित भएको पुष्टि भएकाले उनलाई विजयी घोषणा गर्ने निर्णय गरिएको हो ।
यस्तै, प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशको मत परिणाममा पूजा बाँस्तोला निर्वाचित हुनुपर्नेमा त्रुटिवश सोम शर्मालाई विजयी घोषणा गरिएको पाइएको आयोगले जनाएको छ । आवश्यक अध्ययनपछि पूजा बाँस्तोलालाई उक्त पदमा निर्वाचित घोषणा गरिएको आयोगको निर्णयमा उल्लेख छ ।
आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई विजयी घोषणा गरिएको भन्दै ध्रुव थापा मगर र पूजा बाँस्तोलाले पार्टी निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमाथि अध्ययनपछि असार १२ गते बसेको निर्वाचन आयोगको बैठकले नतिजा सच्याउने निर्णय गरेको हो ।
संशोधित नतिजासँगै यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्मा केन्द्रीय सदस्यबाट बाहिरिएका छन् ।
रास्वपाको प्रथम महाधिवेशन गत शुक्रबार सम्पन्न भएको थियो । महाधिवेशनमा ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनपछि सबै उम्मेदवारको मतपरिणाम सार्वजनिक गरिएको भए पनि अन्तिम विजयी सूचीमा प्राविधिक त्रुटि भएको भन्दै दुई उम्मेदवारले उजुरी दिएपछि निर्वाचन आयोगले पुनः अध्ययन गरी संशोधित नतिजा सार्वजनिक गरेको हो ।