अर्थमन्त्रीले ल्याए सबैभन्दा बढी भोट, उपसभापतिमा निर्वाचित भए नलागी खोट 

शुक्रबार, असार १२, २०८३

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।  

पुरुषतर्फ उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। ​

आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए। रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन्।    

तीमध्ये पुरुषतर्फ वाग्ले निर्विरोध चुनिएका हुन्। यसअघि वाग्ले निर्वाचनबाट केन्द्रीय सदस्य चुनिएका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदबाहेक अन्य पदाधिकारीका लागि पहिले केन्द्रीय सदस्य चुनिनुपर्छ। 

केन्द्रीय सदस्य पदको निर्वाचनमा वाग्लेले खुलातर्फ सबभन्दा बढी २६०७ मत ल्याएका थिए। रास्वपाको सभापति पदमा पनि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्