मुख्यसचिवका लागि दशभाई सचिवको कुण्डली केलाईदै, हुन्छ चाँही को ?

सोमबार, असार ८, २०८३

काठमाडौँको गोकर्णमा ५८ वर्ष अगाडी जन्मिएका अहिलेका मुख्यसचिव सुमनराज अर्यालको असार २६ गते जन्मदिन हो। यस हिसाबले अर्यालको सोही दिनदेखि सरकारी जागिर सकेर घर बसाई सुरु हुन्छ। नेपाल सरकारका २९औँ मुख्यसचिव अर्यालको घर बसाईपछि ३० औँ मुख्यसचिव खोज्ने काम सुरु हुन थालेको छ। 

प्रशासनिक क्षेत्रको सबैभन्दा उच्च पद मुख्यसचिवको जिम्मेवारी सम्हाल्न सचिवहरू आ–आफ्नो तर्फबाट प्रयास गरिरहेका छन् । ३०औँ मुख्यसचिव बन्नका लागि १० सचिव दाबेदार छन् । निजामती सेवा ऐनको दफा १९(२)(क) मा ‘राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ’ भन्ने लेखिएको छ । ऐनमा रहेको यही प्रावधानमा पर्ने सचिवहरू मुख्य सचिवमा बढुवा हुन लबिङ गरिरहेका छन् ।

ज्येष्ठताका आधारमा बढुवा नियुक्ति सिफारिस गरिने प्रधान न्यायाधीशमा समेत रोलक्रम मिचिएकाले मुख्यसचिवमा पनि त्यस्तै हुने लगभग पक्कै छ। मुख्यसचिव नियुक्तिको दिनसम्म पुग्दा वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा हुनेछन् । दोस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेका हरिप्रसाद मैनाली, तेस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मै रहेका डिल्लीराम शर्मा, चौथो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र मोनिटरिङको जिम्मा दिएका गोविन्दप्रसाद शर्मा छन् ।

यस्तै, पाँचौँ नम्बरमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, छैटौँ नम्बरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सातौँ नम्बरमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, आठौँ नम्बरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नवौँ नम्बरमा लोकसेवा आयोगका सचिव रामेश्वर दंगाल र १० औँ नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला छन् ।

अहिले वरीयतामा यी सचिवभन्दा माथि ३ सचिव छन् तर, उनीहरू मुख्यसचिव अर्यालभन्दा अगावै अनिवार्य अवकाशमा जान्छन् । निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका कृष्णहरि पुस्कर मुख्यसचिव अर्यालभन्दा अगाडि नै अवकाशमा जान्छन् । बज्राचार्य असार १७ गते, बुर्लाकोटी असार २१ गते र पुस्कर असार २४ गते अनिवार्य अवकाशमा जाने निजामती कर्मचारी किताबखानाको रेकर्डमा देखिन्छ ।

पहिलो नम्बरमा रहेका शर्मा, पाँचौं नम्बरमा रहेका श्रेष्ठ र छैटौँ नम्बरमा रहेका सिग्देल मध्येका एक जना मुख्यसचिव हुनेछन्। 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्