राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र आजबाट सुरु

सोमबार, असार ८, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुने भएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्योग संघको प्रदर्शनी केन्द्रमा अहिले सुरु भएको जानकारी दिएका छन्। 

महामन्त्री बुर्लाकोटीले बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

यसैगरी बिहान १० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने, बिहान १०:४५ बजे पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन प्रस्ताव गर्ने र अनुमोदन गरिने छ।  

महामन्त्री बुर्लाकोटीले ११:४५ मा उपसभापति स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले दिउँसो १२: १५ राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको जानकारी दिए। 

खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। 

वरिष्ठ नेताको चुनाव नहुने

रास्वपाले वरिष्ठ नेता पदमा निर्वाचन नगर्ने भएको छ। नयाँ विधानमा वरिष्ठ नेताको पद सिर्जना गरिएको छ र वालेन्द्र शाहको समूह पार्टीमा समाहित भएपछि विशेषतः उनकै लागि यो पद सिर्जना गरिएको हो। त्यसै कारण पनि विधानमा यो पदमा निर्वाचन नहुने व्यवस्था गरिएको छ, जसलाई महाधिवेशनले अनुमोदन गर्नेछ। 

चुनावका बेला बालेन समाहित हुँदा विधानमा वरिष्ठ नेता पद नभए पनि महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो। 

वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने भए पनि यो पदमा चुनाव भने नहुने पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए। वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि उनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्