सोसल मिडिया
युनिकोड
पत्रकारको धर्म, स्वभाव र चरित्र नै समाचार लेख्ने हो । हो, त्यहि धर्म निर्वाह गर्दा एक पत्रकारले गाली मात्र पाएका छैनन्, ज्यानकै हुर्मत लिने छुद्र वचन समेत समेत पाएका छन् । तथ्य र सार्वजनिक सरोकारको विषयमा कलम चलाएकै आधारमा रेडियो धनकुटा एफएमका सञ्चालक एवम् स्टेशन म्यानेजर गोपाल बराइलीलाई एक व्यक्तिले निम्छरो गाली गर्दै ज्यानै तलमाथि पार्ने सम्मको धम्की दिएका छन् ।
समाचार प्रकाशनको विषयलाई लिएर फेसबुक म्यासेन्जरमा बराईलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका ७ आन्द्रुङ निवासी पर्शु कार्कीले गालीगलौज गर्दै धम्की दिएका हुन् ।
उनी नेपाली काँग्रेस धनकुटाका सक्रिय कार्यकर्ता तथा एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।
म्यासेन्जरमा धम्की दिँदै पर्शु कार्कीले लेखेका छन्, ‘धेरै चुमचुम भइरहेको छ, अलि होस गर्ने, जिन्दगीको अलि माया गर्ने गर्नू । धेरै जात नजनाउनु, तँलाई हामीले राम्रै चिनेको छ ।’
बराइलीले राहदानी छपाई तथा खरिद प्रकरणसम्बन्धी ‘अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ?’ शीर्षकमा बिहीबार धनकुटा एफएम डटकमबाट समाचार प्रकाशन गरेका थिए । सिद्धार्थ पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका नाती र राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन् ।
धनकुटा स्थायी घर भएका बराईली नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् । हालसालै मात्र उनी राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बराईलीलाई दिएको धम्कीको निन्दा गर्नेको संख्या बढ्दो छ ।
समाचारमा उल्लेख गरिएका पात्र थापा, समाचार लेख्ने पत्रकार बराईली र समाचार लेखेकै भरमा धम्कीदिने कार्की सबै धनकुटाकै हुन् ।