सोसल मिडिया
युनिकोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । उनले ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यससँगै निवर्तमान अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको ऊर्जा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै पदाधिकारीहरूलाई सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन आग्रह गरेका छन् ।
जेठ २९ गते चयन भएको नयाँ नेतृत्वले असार १ गते शपथ ग्रहण गरेपछि बुधबारदेखि औपचारिक रूपमा पदभार सम्हालेको हो । निवर्तमान अध्यक्ष कार्कीले नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका थिए ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनका क्रममा देखिएको प्रतिस्पर्धा अब समाप्त भइसकेको र समग्र ऊर्जा क्षेत्रको हितका लागि सबै एकजुट भएर अघि बढ्ने बताए ।
“चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौँ । सबैजना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरुलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौँ,” अध्यक्ष डाँगीले भने ।
यसअघि तीन कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा अध्यक्ष बनेका हुन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीले इप्पानका पदाधिकारीले सार्वजनिक रूपमा धारणा राख्दा थप जिम्मेवार हुनुपर्ने बताए । ऊर्जा क्षेत्रसँग सम्बन्धित कुनै पनि अभिव्यक्तिले सिंगो क्षेत्रलाई असर गर्न सक्ने भएकाले आवश्यक परामर्श र तयारीपछि मात्रै बोल्नुपर्ने उनको भनाइ छ ।
“कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ । त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ । कुनै कुराको पूर्णजानकारी छैन भने यसवारेमा पछि कुरा गरौँला भनेर भन्नसक्नुपर्छ,” कार्कीले भने, “बोलिमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ ।”
कार्कीले आफ्नो कार्यकालमा उठाइएका अधिकांश ऊर्जा क्षेत्रका मुद्दा राजनीतिक दलका घोषणापत्रमा समेटिनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नयाँ कार्यसमितिले ती विषय कार्यान्वयनका लागि निरन्तर पहल गर्नुपर्ने बताए ।
इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले नेतृत्व परिवर्तन भए पनि ऊर्जा क्षेत्रका साझा एजेन्डामा सहकार्य कायम रहने विश्वास व्यक्त गरे ।