सोसल मिडिया
युनिकोड
सोमबारको प्रतिनिधिसभाको बैठकमा हात्ती आतंकको विषयले प्रवेश पाएको छ । झापाबाट निर्वाचन क्षेत्रबाट निर्वाचित रास्वपा सांसद निशा डाँगी र इन्दिरा रानामगरले हात्ती आतंकको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
डाँगीले झापाको मेचीनगरस्थित बाहुनडाँगीमा हात्तीको आतंकले सर्वसाधारणलाई बाँच्न नै कठिन भएको भन्दै हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले आइतबार मात्र ६२ वर्षीया पद्मा पौडेलले आफ्नै घरमा फूलटिप्ने क्रममा ज्यान गुमाउनुपरेको बताइन् । त्यस्तै, उनले मेचीनगरमा तीन बिगाहामा लगाइएको मकै हात्तीले नष्ट गरेको बताइन् ।
‘यो समस्या आजको होइन, त्यहाँका जनताले ३५/४० वर्षदेखिको हात्तीको आतंक भोगिरहेका छन् । राति सुतेकै ठाउँमा आक्रमण गर्ने चिन्ता हुन्छ । साँझ पर्ने बित्तिकै ४०–५० वटा हात्ती नेपाल प्रवेश गर्छन्, र धान, मकै, सुपारी नष्ट गर्नुका साथै घरगोठ भत्किन्छन्,’ उनले भनिन् ।
उनले हात्ती आतंकका कारण मेचीनगर र बाहुनडाँगीका जनताले राज्य भएको महसुस गर्न नपाएका भन्दै बाहुनडाँगीलाई हात्ती चरण बनाउनेहरूलाई कारबाही गर्न माग गरिन् ।
त्यस्तै, रास्वपाकी अर्की सांसद इन्दिरा रानामगरले जंगली हात्तीको विषय नयाँ नभएको बताइन् । उनले पछिल्लो समय मानव र वन्यजन्तु द्वन्द्वको रूपमा विकास भएको बताइन् । उनले पनि पद्मा पौडेलको निधनमा दु:ख व्यक्त गरिन् ।
भारत र नेपाल सरकारबीच समन्वय गरेर हात्ती आउँदैगरेको पूर्व सूचनामा काम गर्न सकिने बताइन् ।