सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तीव्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् । सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले यार्सागुम्बा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताएका हुन् । बुढा पूर्वमन्त्री समेत हुन् ।
सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन उनले माग गरे । डोल्पासहित १२ हिमाली जिल्लाका हजारौँ परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर रहेको उनको भनाइ छ ।
जलवायु परिवर्तन, अव्यवस्थित संकलनलगायत कारणले यार्सागुम्बाको उत्पादनमा निन्तर गिरावट आएको उनले बताए । उनले यार्सागुम्बाको उत्पादन घट्नु एउटा जडीबुटीको मात्र समस्या नभई सम्पूर्ण हिमाली अर्थतन्त्रमा असर पर्ने विषय भएको उल्लेख गरे ।
“...यार्सा घट्नु भनेको एउटा जडीबुटी घट्नु मात्र होइन, हिमाली अर्थतन्त्र घट्नु हो । यो राष्ट्रलाई ठूलो नोक्सान हुनु हो,” उनले भने ।
उत्पादन घटेसँगै स्थानीय बजार सुनसान बनेको, हजारौँ परिवारको आम्दानी गुमेको र धेरै घरपरिवारमा खाद्यसंकटको चिन्ता बढेको उनले बताए ।
“बजार सुनसान छन्, हजारौँ परिवारको आम्दानी गुमेको छ र धेरै घरमा भोकमरीको चिन्ता बढेको छ,” उनले भने ।
सांसद बुढाले वर्षौंदेखि यार्सागुम्बाबाट राज्यले करोडौँ रुपैयाँ राजस्व संकलन गरे पनि संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा प्रभावकारी पहल नदेखिएको आरोप लगाए ।
उनले भने, “वर्षौंदेखि सरकारले यार्साबाट करोडौँ राजस्व उठायो, तर आज संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा सरकार कहाँ छ ?”
सांसद बुढाले हिमाली जनताको आवाजप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गरे ।