सोसल मिडिया
युनिकोड
अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न केन्द्रहरूमा नयाँ हवाई आक्रमण गरेको छ। अप्रिलमा भएको युद्धविरामपछि यो लगातार दोस्रो दिन गरिएको ठूलो आक्रमण हो।
इरानी सञ्चारमाध्यमका अनुसार केश्म टापु, बन्दर अब्बास, मिनाब र सिरिकमा विस्फोटका आवाजहरू सुनिएका छन् भने धेरै क्षेत्रहरूमा वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) सक्रिय गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको वार्तामा ढिलाइ गरिरहेको कारण अमेरिकाले दबाब कायम राख्ने बताएका छन्। उनले अमेरिकी सेनाले ४९ वटा टमाहक मिसाइल प्रहार गरेको र लडाकु विमानबाट पनि आक्रमण गरेको दाबी गरेका छन्।
यसको जवाफमा इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रहरूलाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि, कुनै क्षतिको आधिकारिक पुष्टि भने भएको छैन।
इरानले होर्मुज स्ट्रेटलाई फेरि एकपटक सबै जहाजहरूका लागि बन्द गरेको छ। तर, अमेरिकी सेन्ट्रल कमाण्डले भने यसलाई अस्वीकार गरेको छ।
यसैबीच, इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले आफ्नो एरोस्पेस फोर्स र नौसेनाले यस क्षेत्रमा रहेका अमेरिकी अखडाहरूमा दुई चरणमा आक्रमण गरेको बताएको छ।
तस्निम समाचार एजेन्सीका अनुसार इरानमाथि हालै भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कारबाही गरिएको हो। आईआरजीसीले अमेरिकी सैनिकहरू उपस्थित रहेका १८ वटा महत्त्वपूर्ण केन्द्रहरूलाई निशाना बनाइएको दाबी गरेको छ।
इरानले यो आक्रमण अमेरिकाको सैन्य कारबाहीको जवाफ भएको र आवश्यक परेमा आगामी दिनमा पनि जवाफी कदम चालिने बताएको छ। यद्यपि, इरानले कुन-कुन अखडाहरूलाई निशाना बनाइयो र आक्रमणबाट कति क्षति भयो भन्ने खुलाएको छैन।
अमेरिकाको तर्फबाट पनि हालसम्म यी दाबीहरूको पुष्टि गरिएको छैन। पछिल्लो दुई दिनमा अमेरिका र इरानबीच लगातार आक्रमण र जवाफी कारबाही भइरहेको छ, जसले पश्चिम एसियामा तनाव झनै बढाएको छ।