आईतबार फर्किने गरि परराष्ट्रमन्त्री शिशिर आजै भारत जाने, रविको आजै फिर्ती सवारी

शुक्रबार, जेठ २२, २०८३

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किँदै छन्। संयोगवश उनी स्वदेश फर्किएकै दिन परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै छन्।

भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत गएका सभापति लामिछानेले दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गरे।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा नेता नितिन नवीन लगायतसँग द्विपक्षीय छलफल गरेका थिए।

भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, नेता प्रदीप आचार्य र निकिता पौडेल सहभागी छन्। रास्वपा प्रवक्ता मनीष झाका अनुसार यो टोली आजै काठमाडौँ आइपुग्नेछ।

रास्वपा टोली फर्किएलगत्तै भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल जेठ २२ देखि २४ गतेसम्मका लागि नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस.जयशंकर र अन्य उच्चपदस्थ नेताहरूसँग भेटघाट गर्नेछन्। नेपाल-भारतबीचको सीमा समस्या, कनेक्टिभिटी, ऊर्जा व्यापार, पारवहन तथा दुई देशबीचको साझा सरोकारका समग्र विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

नेपाल र भारतबीच भइरहने नियमित उच्चस्तरीय भ्रमणकै निरन्तरताका रूपमा यसलाई हेरिएको छ। मन्त्री खनाल आगामी जेठ २४ गते आइतबार स्वदेश फर्किने तालिका रहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:३६
प्रतिक्रिया दिनुहोस्