राप्रपाका एक्ला निर्वाचित सांसद शाहीले ‘जुँगाको लडाइँ’ गर्नेलाई हाने झटारो

बुधबार, जेठ २०, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले शीर्ष नेताहरूको आन्तरिक विवाद र व्यक्तिगत स्वार्थप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा आफ्नो तीव्र आक्रोश पोखेका छन्।

उनको फेसबुक पोस्ट अनुसार, नेताहरू माझ चलिरहेको खिचातानी र ‘जुँगाको लडाइँ’ले आम युवा तथा कार्यकर्ताहरूमा निराशा पैदा गरेको छ।

शाहीले नेताहरूको डिएनए नै मिलेर जाने प्रकृतिको नभएको भन्दै राजनीतिक नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

नेता शाहीले अहिलेको समय एकअर्कालाई आरोप-प्रत्यारोप गरेर फुट्ने नभई एकजुट भएर अगाडि बढ्नुपर्ने समय भएको उल्लेख गरेका छन्। देशैभरि हार ब्यहोर्दा समेत नेतृत्व छोड्न तयार नहुने र अर्कोतर्फ चुनावै नलडी नेतृत्व हत्याउन खोज्ने प्रवृत्तिप्रति उनले तिखो प्रहार गरेका छन्।

पदका लागि भइरहेको यो हानाथाप र अहंकारले संगठन मात्र नभई कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा समेत टुट्दै गएको शाहीको ठहर छ।

नेतृत्व भनेको पदमा टाँसिएर बस्ने नभई आवश्यकता पर्दा त्याग गर्न सक्ने क्षमता भएको स्मरण गराउँदै उनले भनेका छन्, “एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्, अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्।”

शाहीले शीर्ष नेताहरूलाई नाटक बन्द गर्न र हिम्मत भए आफूसहित तीनै जना सँगै बसेर खुला छलफल र बहस गर्न चुनौती समेत दिएका छन्।

नेताहरूको यस्तो कुटिल र ‘खुरापाती’ राजनीति देखेर मानिस मात्र नभई ‘भगवान पनि वाक्क भइसकेको’ भन्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्