कांग्रेसका कुरा पनि बजेटमा आएको भन्दै गगनले गरे थप यस्तो टिप्पणी

आइतबार, जेठ १७, २०८३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।

नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए। उनले सकारात्मक पक्षहरूमा आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने स्पष्ट पारे।

यद्यपि, बजेट र सरकारको कार्यशैलीले गरिबी निवारणभन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उनको आरोप छ। सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको बताए।

सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उनले बताए।

उनले भने, ‘राज्यको नियत, प्रवृत्ति के देखिन्छ भने म गरिबी हटाउँछु होइन, म गरिबलाई हटाइदिन्छु। मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मास्दिन्छु, म हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ। हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौँ।’

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०९:०३
प्रतिक्रिया दिनुहोस्