अनेक लफडाको रागले आक्रान्त पारेपछि बैशाख ९ गते गृहमन्त्री त्यागेका सुधनले दिए बयान

बुधबार, जेठ १३, २०८३

पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले उनीसँग बयान लिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रश्न उठेपछि उनले बैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।

रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।

त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले गुरुङसँग आज बयान लिएको स्रोतले जानकारी दियो ।

बैंक, स्टक एक्चेन्ज र पत्रिकामा प्रकाशित समाचारहरूको आधारमा समितिले सांसद समेत रहेका गुरुङमाथि छानबिन गरिरहेको छ ।

समितिलाई मन्त्रिपरिषद्ले १५ दिनमा प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ । छानबिन समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् ।  

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्