रवि लामिछाने राजनीतिमा लागेपछि बन्द भएको टेलिभिजनका नाममा जारी भयो यस्तो सूचना

मंगलबार, जेठ १२, २०८३

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सार्वजनिक सूचना जारी गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं. ३ का मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईबीचको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको पक्षमा फैसला गरेको थियो।

सो फैसला अनुसार प्रतिवादीबाट बाँकी घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो।

उक्त निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो।

अदालतको आदेशपश्चात् २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोलीले घरजग्गा खाली गराउने कार्य अघि बढाएको थियो।

फैसला कार्यान्वयन भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि सामान नहटाइएपछि घरधनी मिश्रले २०८३ वैशाख २१ गते ती सामान लिलाम गरिपाऊँ भनी महानगरमा निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा महानगरपालिकाले १५ दिने म्याद दिँदै अन्तिम अवसर प्रदान गरेको हो।

यदि तोकिएको समयसीमाभित्र बाँकी बहाल रकम बुझाई सामान नलगेको खण्डमा महानगरको न्यायिक समितिको कार्यविधि बमोजिम ती सामान लिलाम गरिने चेतावनी दिइएको छ।

उल्लेखनीय छ कि उक्त टेलिभिजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्व र जीबी राई लगायतको लगानीमा सञ्चालनमा आएको थियो।

लामिछाने राजनीतिमा प्रवेश गरेलगत्तै सो टेलिभिजन च्यानल बन्द भएको थियो।ktm-1779763446-1779764484.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्