बुबाको मुख हेर्ने दिनमा शिवरामले खोजेको उपहार आरतीले क्षण भरमै यसरी गरिन् पूरा

बुधबार, जेठ ६, २०८३

एक वर्ष अघि मात्र उमेरहदका कारण सहसचिव शिवराम न्यौपानेले अवकाश पाए। निजामतीमा ईमान्दार र व्यवसायिक कर्मचारीको फरासिलो परिचय बनाएका न्यौपाने सरल र मृदुभाषी कर्मचारीका रुपमा चिनिए। उनै बेदागी कर्मचारीकी जेठी छोरी आरती न्यौपाने निजामती क्षेत्रमै कम उमेरमा सहसचिव भएको चर्चाले सिंगो देशनै तातिएको छ। अर्थात, आरतीको क्षमताको गच्छे अनुसार ‘आरती’ उतार्ने क्रम चल्दो छ। 

भक्तपुरमा जन्मेहुर्केका शिवरामले सरकारी सेवामा रहेर लामो समय काम गरे। अघिल्लो साल अर्थात २०८२ मा ५८ वर्ष लागेपछि अवकाश पाए।  सहसचिवबाट घर गएका न्यौपाने अछामको सिडिओ समेत भएर काम गरे।  धेरै मन्त्रालयमा बसेर काम गरे। उनै न्यौपानेकी जेठी छोरी आरती यतिबेला चर्चाको चरमचुलीमा छिन्। २०७६ सालमा शाखा अधिकृत भएकी उनी त्यसको छ वर्षकै अवधिमा सहसचिव बनेकी छन्। ३२ बर्षको उमेरमा उनले सहसचिव हुने सौभाग्य प्राप्त गरेकी हुन्। शिवराम र मेनुकाकी जेठी छोरी आरती २०५१ साउन २० मा जन्मिएकी हुन्। 

बुबाको मुख हेर्ने दिनले मोडेको मूड नै सफलताको कडी बन्यो 

सरकारी सेवामा रमाएका शिवराम आफ्ना सन्तान पनि सोही क्षेत्रमा रतिएको हेर्न चाहन्थे। छोरीलाई ऐनमौकामा सरकारी सेवामा लाग्न भनिरहन्थे। जेठी छोरीले स्नातक सकेकी थिईन्, कान्छी पूजा उच्च शिक्षाकै क्रममा थिईन्। सबैभन्दा सानो छोरा स्कुलले तहको पढाईमा थिए। यो २०७५ सालको कुरा थियो। 

तीन सन्तानका पिता शिवरामलाई बुबाको मुख हेर्ने दिन तीनै जनाले एकै स्वरमा ‘ह्याप्पी फादर्स डे’ भनेर उपहार दिन योजना अघिल्लै दिन बनाएका थिए। सोही बमोजिम गरे पनि। अनि उपहार स्वरुप दौरा-सुरुवाल आरतीले दिईन्। उपहार पाएपछि ‘आहो, ल धन्यवाद’ भन्दै शिवरामले छोरीप्रति आभार प्रकट गरे। तर, आरतीलाई कता-कता बुबालाई उपहार मन पो नपरेको हो कि भन्ने लागेर किन ‘बाबा, राम्रो लागेन र?’ भनेर सोधिन्। जवाफमा बुबा शिवरामले ‘मलाई यस्तोभन्दा पनि अर्कै किसिमको उपहार राम्रो लाग्छ।’ भनेर जवाफ फर्काए। 

बुबाको जवाफले छोरी आरतीलाई चिमोठ्यो र कस्तो उपहार भनेर सोधिन्। बुबा शिवरामले त्यसको जवाफमा भने ‘तिम्रो शाखा अधिकृतको नियुक्ति पत्र।’ हो बुबाको यहि उपहार रुपी रहरलाई छोरी आरतीले लगत्तै पूरा गरिन्। नभन्दै लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन पनि गर्यो र उनी २०७६ सालको बुबाको मुख हेर्ने समयमा शाखा अधिकृत पनि भईन्। 

यो सालको बुबाको मुख हेर्ने दिन आउँन तीन महिना बाँकी रहँदै आरतीले बुबा शिवरामलाई सहसचिव नियुक्तिको पत्र उपहार दिएकी छिन्। बुबाको इच्छा क्षण भरमै पूरा गरेकी आरतीकी बहिनी पूजा पनि सरकारी सेवामै छिन्। आरतीका श्रीमान् अर्जुन अधिकारी परराष्ट्र मन्त्रालयमा उपसचिव छन् भने बहिनी पूजा त्यहीं शाखा अधिकृत छिन्। पूजा पनि हालसालै अधिकृत भएकी हुन्। 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  २१:०६
प्रतिक्रिया दिनुहोस्