कार्यकाल नसकिंदै राजदूत फिर्ता बोलाउँदा राज्यको एक करोड ५२ लाख स्वाहा 

मंगलबार, जेठ ५, २०८३

सरकारले कार्यअवधि सम्पन्न हुनुभन्दा अगावै १३ देशका राजदूत फिर्ता बोलाउँदा एक करोड ५२ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ ।

महालेखारीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो ६३औँ वार्षिक प्रतिवेदनमा सो कुरा औँल्याइएको छ ।

“नेपाल सरकारको २०८१ जेठ २४ र २०८१ साउन १४ को निर्णयानुसार अवधि सम्पन्न हुनुअगावै स्वदेश फर्किएका साउदी अरेबिया, कतार, चीन, मलेसिया, डेनमार्क, इजरायल, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, अस्ट्रेलिया, बेलायत र अमेरिकासमेत १३ देशका राजदूत फिर्ता हुँदा ढुवानी खर्चमा ६१ लाख २५ हजार र बेलायतबाहेका अन्य १२ राजदूत तथा निजका परिवारको हवाई टिकटबापत ९१ लाख ५९ हजारसमेत १ करोड ५२ लाख ८४ हजार रुपैयाँ खर्च भएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ८ (क) मा राजदूतको पदावधि नियोगमा हाजिर भएको मितिले ४ वर्षको हुने उल्लेख छ ।

तर, सरकारमा सहभागी हुने दल फेरिएलगत्तै वा सरकार फेरिएलगत्तै अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने अभ्यास चल्दै आएको छ । यस्तो अभ्यासले राज्यको दायित्व बढाएको ठहर महालेखाको छ ।

“त्यसै गरी २०८१/८२ मा नियुक्त गरिएका ९ सहित ११ राजदूतलाई अवधि पूरा नहुँदै २०८२ काक्ति २० गते भित्र नेपाल फिर्ता बोलाएको अवस्था छ । राजदूतको कार्य अवधि पूरा नहुँदै राजदूत फिर्ता गर्दा बिमा, हवाई टिकट तथा ढुवानीमा सोही अनुपातमा खर्च हुने हुँदा राज्यको दायित्व बढ्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १३:१५
प्रतिक्रिया दिनुहोस्