सोसल मिडिया
युनिकोड
एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेयको पक्राउलाई लिएर नेपाल बैंकर संघले आकस्मिक बैठक बोलाएको छ । धितो लिलामीको कानुनी अधिकार प्रयोग गरेको विषयमा बैंकरलाई पक्राउ गरिएको भन्दै संघले अहिले आकस्मिक बैठक बोलाएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘ठगी तथा आपराधिक विश्वासघात’सम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि सीईओलाई पक्राउ गरेको उल्लेख गरेको छ ।
यसैबारे टिप्पणी गर्दै बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला यो मुद्दालाई फौजदारी प्रकृतिको कसुर भन्दै प्रहरीले पक्राउ गरेको विषयमा संघले आफ्नो धारणा स्पष्ट पार्न र थप रणनीति तय गर्न छलफल गर्ने जानकारी दिए ।
संघका अध्यक्ष कोइरालाकाअनुसार बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) र अन्य विद्यमान कानुनले बैंकलाई ऋण नतिरेको खण्डमा धितो लिलामी गरेर असुल गर्ने स्पष्ट अधिकार दिएको छ ।
बैंकले सर्वसाधारणको निक्षेप लिएर कारोबार गर्ने भएकाले ऋण डुब्नु भनेको सर्वसाधारणकै हित विपरीत हुने उनको तर्क छ ।
“बैंकले पब्लिककै पैसा चलाउने हो, त्यसैले ऋण उठाउन पाउनु बैंकको पहिलो अधिकार हो। यदि धितो लिलामी प्रक्रियालाई नै लिएर बैंकर पक्राउ गर्नुपर्ने अवस्था हो भने यो अत्यन्त दुखद र दुर्भाग्यपूर्ण हुन्छ,” अध्यक्ष कोइरालाले भने ।
सीआईबीको पत्रमा ‘आपराधिक विश्वासघात’ भन्ने शब्द उल्लेख गरिएको भए तापनि त्यसलाई कुन आधारमा परिभाषित गरेर पक्राउ गरिएको हो भन्नेमा बैंकरहरु अन्योलमा छन् । धितो लिलामी गर्ने अधिकार बैंकलाई कानुनले नै दिएको अवस्थामा यसरी पक्राउ गरिनुले बैंकिङ क्षेत्रमा त्रास फैलिएको उनको भनाइ छ ।
आज बस्ने बैंकर संघको बैठकले यस घटनाको आधिकारिक विरोध गर्ने वा अन्य कानुनी बाटो रोज्ने भन्नेबारे निर्णय लिने उनले जानकारी दिए ।
अनुसन्धान गर्ने निकायले यसलाई अन्य कुनै पाटोबाट हेरेको भए त्यो छुट्टै विषय होला तर प्रक्रियागत लिलामीलाई लिएर गरिएको हस्तक्षेप स्वीकार्य नहुने उनको तर्क छ ।