सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । स्वास्थ्यलाभ गरिरहेका ओलीलाई भेट्न भण्डारी आइतबार ओली निवास गुन्डु पुगेकी थिइन् ।
उनीहरूबीच ३ घन्टा लामो छलफल भएको बुझिएको छ। अहिले एमाले अध्यक्ष ओली स्वास्थ्यलाभ गरिरहेकाले पार्टीका नेताहरूसँग भेटघाट पातलो भएको छ ।
पार्टीभित्र नेतृत्व परिवर्तनको चर्को दबाबले गर्दा ओलीले सचिवालय, केन्द्रीय समितिलगायतका संरचनाको बैठक बोलाउन सकेका छैनन् । उनले माओवादी पृष्ठभूमिका नेता (उपाध्यक्ष) रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्षलाई दिएका छन् । यसले पनि जैविक एमालेलाई असन्तुष्ट बनाएका छन् ।
एमालेमा महासचिव शंकर पोखररेल र उपाध्यक्ष विष्णु पौडेल नेतृत्व परिवर्तनको पक्षमा लागेका छन् । तर, उनीहरूलाई ओलीले भेट दिएका छैनन् । पार्टीमा नेतृत्वका आकांक्षी नेताहरूलाई भेट नदिएर भण्डारीलाई तीन घन्टाको समय ओलीले दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमालेभित्र ओलीले नेतृत्व परिवर्तन गर्दा भण्डारीलाई अघि सार्न सक्ने आकलन नेताहरूले गरेका छन् । किनकि पछिल्लो पुस्तामा नेतृत्व दिँदा विवाद आउन सक्नेमा ओली सचेत छन् । भण्डारीको क्रियाशील सदस्यता नवीकरणमा पनि ओलीले जालझेल गरेको आरोप पछिल्लो महाधिवशनमा लागेको थियो ।
नेतृत्व परिवर्तनको दबाब र छलफलका श्रृंखला चलिरहँदा शीर्ष नेतृत्वको छलफलले पार्टी राजनीतिलाई नयाँ दिशामा लैजान सक्नेछ । त्यस्तै, सोमबार ओलीलाई भेट्न युवा नेता अब्दुस मिया पनि पुगेका थिए । सो भेटको फोटो खिचाउने क्रममा ओलीले मियालाई आफ्नो आसनमा राखेर युवालाई नेतृत्व दिन सकिने संकेत पनि गरेका छन् ।