प्रधानमन्त्री वालेन्द्रले उत्पत्ति गराएको जिनिस आजै संसदलाई जिम्मा लगाउने

सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभाकाे आजकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न अध्यादेश पेस गर्ने भएका छन् । साेमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । 

संघीय संसदकाे बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यसअघि प्रतिनिधिसभाकाे बैठक बस्नेछ । 

बैठकमा प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्