सोसल मिडिया
युनिकोड
राज्यको तेस्रो अंगको प्रमुखको हैसियत पाएको प्रधानन्यायाधीश पदले आज पूर्णता पाउने भएको छ। जसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले आजै पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन्।
कानुन व्यवसायीको पृष्ठभूमिबाट अदालत छिरेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई नै प्रधानन्यायाधीश सिफारिश गरिने बुझिएको छ। हुन न त प्रधानन्यायाधीशको रोलक्रममा रहेर कायममुकायम प्रधानन्यायाधीश मात्रै भएर अदालतबाट दीपकराज जोशी बिदा हुनु परेको नजिर पनि छ।
जोशीलाई संवैधानिक परिषद्ले प्रस्तावित प्रधानन्यायाधीशका रूपमा ०७५ जेठ २९ गते सिफारिस गरेको थियो। तर, ०७५ साउन १८ मा संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्यो। नेपालको संवैधानिक इतिहासमा यस खालको घटना पहिलो हो। जोशीले पाँच महिना सर्वोच्चमा न्यायाधीशका रूपमा न्यायनिरुपण गरेका थिए। कानुन व्यवसायीको पृष्ठभूमिका जोशी झन्डै ७ वर्ष तत्कालीन उच्च अदालतमा मुख्य न्यायाधीशका रूपमा काम गरेका थिए। झन्डै २० वर्ष न्यायाधीशका रूपमा काम गरेका थिए। उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए।
को हुन् सपना प्रधान मल्ल ?
जन्म : २०२० कात्तिक २९, काठमाडौं शैक्षिक योग्यता : एमसीएल, एमपीए न्यायाधीश नियुक्ति : २०७३ साउन १७
पृष्ठभूमि : प्रधान पनि कानुन व्यवसायप्को पृष्ठभूमि भएकी न्यायाधीश हुन्। २०४३ सालदेखि २०६८ सालसम्म इजलासमा बहस पैरवी गरिन्। झन्डै २५ वर्ष उनले बहसपैरवी गरेको अनुभव छ। ३ वर्ष नेपाल ल क्याम्पसमा लेक्चरर भइन्। २०६५ वैशाखदेखि २०६९ वैशाखसम्म अर्थात् चार वर्ष संविधानसभा सदस्य भइन्। तीन वर्ष संयुक्त राष्ट संघ, यातनाविरुद्ध समितिमा विज्ञ सदस्य भइन्। ०७९ फागुनमा वरिष्ठ अधिवक्ताको उपाधि पाइन्। ०७३ साउन १७ गते सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त भएकी थिइन्।
नेपाल ल क्याम्पसबाट बीएल, दिल्ली युनिभर्सिटीबाट एमसीएल,हावर्ड युनिभर्सिटिबाट (एमसी÷एमपीए) गरेकी छिन्। प्रधान न्यायाधीश नियुक्त भए दोस्रो महिला प्रधानन्यायाधीश हुनेछिन्। लैंगिक समानता लगायतका विविध विषयमा दख्खल छ।
सपना प्रधानन्यायाधिश भएको खण्डमा र रोलक्रम नमिचिए मल्लपछि २०२३ भदौ २२ गते जन्मिएका कुमार रेग्मी प्रधानन्यायाधीश बन्नेछन्। उनी २०८५ कात्तिक १० देखि २०८८ भदौ २१ सम्म प्रधानन्यायाधीश रहनेछन्। त्यसपछि ०२७ असोज २० गते मोरंगमा जन्मिएका हरिप्रसाद फुयाँल प्रधानन्यायाधीश बन्नेछन्। उनी ८८ भदौ २२ देखि ०९२ असोज १९ सम्म चार वर्ष प्रधानन्यायाधीश रहनेछन्।
त्यस पछि २०२८ असार ८ गते म्याग्दीमा जन्मिएका नहकुल सुवेदीको पालो आउँछ। उनी ०९२ असोज २० देखि ०९३ असार ७ सम्म झन्डै नौ महिना प्रधानन्यायाधीश बन्नेछन्। त्यसपछि २०२८ पुस ६ गते स्याङजामा जन्मिएका टेकप्रसाद ढुंगानाले अवसर पाउनेछन्। उनी ०९३ असार ८ देखि पुस ५ सम्म छ महिनाका लागि प्रधानन्यायाधीश बन्नेछन्। यो सबै हुनका लागि वरिष्ठता मिचिनु हुँदैन्।
२०२८ माघ २५ गते खोटाङमा जन्मिएका नृपध्वज निरौला पनि वरिष्ठता नमिचिएको खण्डमा प्रधानन्यायाधीश बन्नेछन्। उनी ०९३ पुस ६ देखि माघ २४ सम्म जम्मा ४८ दिन प्रधानन्यायाधीश हुनेछन्।