संवैधानिक परिषद्को बैठकले कसलाई बनाउँदैछ प्रधानन्यायाधीश ?

बिहीबार, वैशाख २४, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आज (बिहीबार) अपराह्न ५ बजेका लागि आह्वान गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा मुख्यगरी रिक्त रहेको वा रिक्त हुन लागेको प्रधानन्यायाधीश पदको सिफारिसका विषयमा निर्णायक छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री शाहको साथमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सहभागी हुनेछन्।

त्यसैगरी, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरको पनि बैठकमा उपस्थिति रहनेछ।

न्यायपालिकाको सर्वोच्च पद प्रधानन्यायाधीशको चयन प्रक्रियालाई गति दिन यो बैठकलाई निकै महत्त्वपूर्ण मानिएको छ। परिषद्ले योग्य उम्मेदवारको नाम सिफारिस गरेपछि उक्त सिफारिस संसदीय सुनुवाइका लागि पठाइने संवैधानिक व्यवस्था रहेको छ।

यसअघि नै न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ । यी मध्येका कोही एक जनालाई प्रधानन्यायाधिश सिफारिश गरिनेछ। अहिलेसम्म वरिष्ठता नमिचिएको हुँदा मल्ल नै प्रधानन्यायाधीश बन्ने सम्भावना ज्यादा छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्