सोसल मिडिया
युनिकोड
नेपाल बीमा प्राधिकरणमा कर्मचारी प्रशासन र विभागीय कार्यसम्पादनलाई थप चुस्त बनाउने उद्देश्यले उच्च तहका कर्मचारीहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ।
प्राधिकरणको संस्थागत सुशासनलाई बलियो बनाउन र कार्यक्षमता अभिवृद्धि गर्न पाँच जना निर्देशकहरूको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। यो नयाँ कार्यविभाजन प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा लागू गरेका हुन्।
नयाँ जिम्मेवारी अनुसार निर्देशक कुन्दन सापकोटालाई सुपरिवेक्षण महाशाखाको नेतृत्व सुम्पिएको छ। यसअघि व्यवस्थापन विभागमा कार्यरत सापकोटाले अब बीमा कम्पनीहरूको सुपरीवेक्षण र अनुगमनको कमान सम्हाल्नेछन्।
त्यसैगरी, यसअघि अनुसन्धान विभागमा रहेकी पूजन ढुंगेल अधिकारीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। प्राधिकरणको आन्तरिक व्यवस्थापन र प्रशासनिक कार्यहरूलाई थप प्रभावकारी बनाउन अधिकारीलाई यो जिम्मेवारी दिइएको बुझिएको छ।
यसैगरी, निर्देशक ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखाको नेतृत्वको जिम्मेवारी दिइएको छ। बीमा बजारको अध्ययन र नयाँ सम्भावनाहरूको खोजीमा तिमिल्सिनाले समन्वय गर्नेछन्।
नियमन महाशाखाको महत्वपूर्ण जिम्मेवारी कमलप्रसाद रेग्मीलाई सुम्पिएको छ भने शम्भराज लामिछानेलाई कानुन महाशाखाको नेतृत्व गर्ने अवसर दिइएको छ। बीमा क्षेत्रमा देखा परेका कानुनी जटिलता र नियमनकारी भूमिकालाई सन्तुलनमा राख्न यी दुई अनुभवी निर्देशकहरूको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
प्राधिकरणले समय–समयमा गर्ने यस्तो जिम्मेवारी हेरफेरलाई नियमित प्रशासनिक प्रक्रियाका रूपमा लिएको छ। यसले कर्मचारीहरूको अनुभव आदानप्रदान हुने र बीमा क्षेत्रको नियमनकारी निकायको रूपमा प्राधिकरणको उपस्थिति थप बलियो हुने विश्वास लिइएको छ। न
याँ कार्यविभाजनसँगै बीमा कम्पनीहरूको अनुगमन, नयाँ कानुनको मस्यौदा र बजार अनुसन्धानका कामहरूले गति लिने प्राधिकरण स्रोतले जनाएको छ।