अर्थ मन्त्रालयलाई नयाँ बजेटको चटारो, मन्त्री डाकेरै गर्न थाल्यो छलफल

मंगलबार, वैशाख २२, २०८३

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयले नौजना विभागीय मन्त्रीहरूसँग मन्त्रालयगत बजेट छलफल गरेको छ ।

आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट र स्रोत व्यवस्थापनका विषयमा परामर्शका लागि छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार बाँकी रहेका अन्य मन्त्रालयहरूसँगको बजेट छलफल मंगलबार पनि जारी रहनेछ ।

छलफलको सुरुआत गृह मन्त्रालयबाट गरिएको थियो । त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेट केन्द्रित संवाद भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा भएको बैठकमा अर्थ र राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू र मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूको उपस्थिति थियो ।

छलफलमा श्रममन्त्री रामजी यादव, उद्योगमन्त्री गौरीकुमारी, कानुनमन्त्री सोविता गौतम, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षा तथा युवा र खेलकुदमन्त्री सस्मित पोखरेल र संघीय मामिला तथा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलका साथै सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी थिए ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको समय तालिकाअनुसार सोमबार बिहान ११ बजेदेखि सुरु भएको सो छलफल साँझ साढे ७ बजेसम्म चलेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्