शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश, के कसुरमा समातिएको थियो ?

सोमबार, वैशाख २१, २०८३

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो। 

गोल्छालाई बैशाख १० गते नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो। 

धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम  कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको थियो  ।

विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्न प्रयोग हुने गरेको प्रतिवेदन धितोपत्र बोर्डले तयार पारेको थियो ।

विवादित व्यवसायी दीपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीमा कम्पनीलाई बिक्री गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १८:४७
प्रतिक्रिया दिनुहोस्