प्रधानमन्त्री वालेन्द्रले २२७ शब्दमा फेसबुक मार्फत दिए यस्तो प्रष्टीकरण

सोमबार, वैशाख २१, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले सुकुमबासी बस्तीका घर टहरा भत्काउने प्रक्रियाबारे नियोजित रुपमा त्रास फैलाउने प्रयास भइरहेको बताएका छन्। 

सोमबार बिहान फेसबुकमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै उनले सरकारले कानुनबमोजिम प्रक्रिया अघि बढाइरहँदा नियोजित रूपमा भएका अनर्गल टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको जनाएका हुन्।

‘नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेको प्रति सरकारको ध्यानाकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।’

भूमिहीनको दीर्घकालीन समस्या समाधान गर्न आइपर्ने अवरोधको रुपमा रहेको भूमिसम्बन्धी ऐन २०२१ का केही दफा अध्यादेशबाट खारेज गरिएको उनले जनाएका छन्। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरुको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार काम सुरु गरिएको उनले जनाएका छन्।

‘यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ’, उनले भनेका छन्।

‘सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ’, उनले लेखेका छन्।

सोमबार बिहान उनले पुरानै शैलीमा फेसबुक पोष्ट गर्दै आफ्नो धारणा साार्वजनिक गरेका हुन्। पहिला-पहिला छोटा, सांकेतिक र लाक्षणिक पोष्ट गर्ने उनले यस पटक विचार, कानुन र तथ्यमा आधारित २२७ शब्दको फेसबुक पोष्ट गरेका छन्।
 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्