एक पद बढुवा पाएपछि सशस्त्र छिरेका नारायण एपिएफको आइजिपी

सोमबार, वैशाख १४, २०८३

नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने भएका छन् । सोमबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्न लागेको हो ।

हालका आईजिपी राजु अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल सकाएर घर जाँदैछन् । पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।

०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि एक पद बढुवा भएर उनी डिएसपीमा समायोजित भएका हुन् ।

सशस्त्र महानिरीक्षकमा उनकै ब्याजका एआईजी बंशीराज दाहाल र उनीहरुपछिका गणेश ढाडा पनि आकांक्षी थिए । तर, सरकारले वरिष्ठता र ज्येष्ठताका आधारमा सशस्त्रको संगठन प्रमुखको जिम्मेवारी पौडेललाई दिन लागेको हो ।

पौडेल पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । दाहाल पौडेलभन्दा ५ महिनापछि सोही वर्षको असोज २८ मा एआईजी भएका हुन् ।

नयाँ बन्ने प्रहरी नियमावलीमा ३० वर्षे उमेर हद यथावत रहे पौडेलको कार्यकाल करिब २३ महिनाको हुनेछ । नियमावलीमा हालको व्यवस्था संशोधन भएर ३२ वर्षे उमेर हद कायम हुने अवस्थामा भने उनको कार्यकाल थप दुई वर्ष लम्बिने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्