मनोहराखोला किनारमा दुई हजार पुलिसले भत्काए ७७७ घरटहरा 

आइतबार, वैशाख १३, २०८३

भक्तपुरको मनोहराखोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका १ हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।

प्रहरी उपरीक्षक खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।’

यस बस्तीमा ७७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सातवटा ठूला पक्की घर भत्काइएका थिए । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुम्बासीले आक्रमण  गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्