सोसल मिडिया
युनिकोड
गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरको बढ्दो संख्याका कारण सडक दुर्घटना, रेबिजको जोखिम तथा जुनोटिक रोगको सम्भावित खतरा न्यूनीकरण गर्ने उद्देश्यले बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
वडा नं. १ स्थित पुरानो स्वास्थ्य चौकी भवनमा आयोजित शिविरमा विभिन्न वडाबाट सङ्कलन गरिएका सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको हो ।
नगरपालिकाको पहलमा खटिएका प्राविधिक टोली कुकुर समात्ने, स्वास्थ्य परीक्षण गर्ने र पशु सर्जनद्वारा शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने कार्य भइरहेको छ । स्थानीयको सहयोगमा टोल–टोलबाट ल्याइएका कुकुरहरूलाई बन्ध्याकरणपश्चात् व्यवस्थित तरिकाले उपचार गर्दै सुरक्षित रूपमा पुनः सोही क्षेत्रमा छोड्ने प्रक्रिया समेत अगाडि बढाइएको छ ।
उक्त अभियानले विशेष गरी सडकमा हिँड्ने सर्वसाधारण, सवारीसाधन, विद्यालय जाने बालबालिका तथा समुदायलाई सम्भावित जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ ।