सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको विवादको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुने भएको छ । आधिकारिकता र १५औँ महाधिवेशनको कार्यतालिका स्थगितको माग गर्दै भएको रिटमा बिहीबार सुनुवाइ भएको हो ।
बिहीबार मुद्दामा रिट निवेदक शेरबहादुर देउवा र निर्वाचन आयोगका तर्फबाट बहस भएको छ । शुक्रबार विशेषबाट सभापति भएका गगन थापाका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसैले न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला इजलासको मुद्दा बिहीबार हेर्दाहेर्दैमा परेको हो ।
गगन पक्षको बहसपछि शुक्रबार कांग्रेसको आधिकारिकता मुद्दा फैसला आउने सक्ने कानुन व्यवसायीहरू बताउँछन् । २७ देखि ३० पुससम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । तर, संविधान, निर्वाचन कानुन र निर्वाचन आयोगको नजिर विपरीत विशेष पक्षलाई आधिकारिकता दिइएको भन्दै देउवा पक्ष सर्वोच्च अदालतमा पुगेको हो ।
२१ फागुनको चुनावको मुखै भएकोले असन्तुष्ट पक्षले पनि सभापति थापाको हातबाट टिकट लिएर निर्वाचन लडेको थियो । तर, निर्वाचनपछि इतर पक्षले पनि समानान्तर गतिविधि गरिरहेको छ । अदालतले आधिकारिकता टुंग्याउन ढिलाइ गर्दा कांग्रेसको विवाद थप चुलिएको छ ।