गृहमन्त्री सुधनले सम्पत्ति विवरणको बचाउमा लेखेको स्टाटस किन हटाए ?

सोमबार, चैत ३०, २०८२

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा दिएको टिप्पणी हटाएका छन्।

प्रधानमन्त्री र मन्त्रीहरूसँग अस्वाभाविक सम्पत्ति देखिएको भन्दै आलोचना भएपछि गुरुङले सरकारमा आउनुअघि कमाएको सम्पत्ति पाप नभएको टिप्पणी गरेका थिए।

सामाजिक सञ्जालमा उनको पोस्टको आलोचना भएपछि गुरुङले सामाजिक सञ्जालबाट हटाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा भएको सुनलगायतका गरगहनामाथि प्रश्न उठेको छ। उनीहरूको कमाएको सम्पत्तिको स्रोतबारे पनि प्रश्न उठेका छन्।

गृहमन्त्री गुरुङले कुनै मान्छे गरिब भएर जन्मनु गल्ती नभएको भन्दै मृत्यु हुँदा गरिब भएर मर्नु चाहिँ गल्ती हुने बताएका थिए।

गुरुङले इन्स्टाग्रामको स्टोरीमा लेखेका थिए, ‘सरकारमा आउनुअघि विना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।’

उनले ह्यासट्याग प्रयोग गर्दै ‘चेतना भया’ भनेर पनि लेखेका थिए।

गुरुङले बुझाएको विवरणअनुसार उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ।

जग्गा-जमिनतर्फ पनि गुरुङको स्वामित्व ठूलो देखिएको छ। गोरखामा मात्रै २२१ रोपनी जग्गा रहेको, जुन पैतृक सम्पत्ति भई हजुरबाको नाममा रहेको उनले बताएका छन्। त्यस्तै, चितवनको भरतपुरमा बुवाको नाममा ३० कठ्ठा जग्गा र धनकुटामा आफ्नै नाममा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ।

उनको लगानी ‘पोर्टफोलियो’ पनि बलियो देखिन्छ। विभिन्न कम्पनीहरूमा उनले करिब ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् भने तीनवटा बैंक खातामा ६२ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ। गुरुङले आफ्नो सम्पत्तिको स्रोत पैतृक र व्यवसाय रहेको बताएका छन्, तर व्यवसायको प्रकृति भने खुलाएका छैनन्।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्