सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि अर्यालकाे एकल उम्मेदवारी परेकाे थियाे ।
यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेकाे थियाे । तर, एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विराेध चयन भएका हुन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालकाे एकल उम्मेदवारी परेकाे बताए । सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।
उनले भने, 'सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावका लागि बिहान ११ देखि दिउँसाे २ बजेसम्मकाे समय निर्धारण गरिएकाे थियाे । याे समयमा एक मात्र प्रस्ताव दर्ता हुन आएकाे छ ।'
शुक्रबार अर्यालले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । प्रस्तावक रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियाेस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।
सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।
धादिङ्गमा जन्मे हुर्केका अर्याल वैदेशिक रोजगारमा लामो समय काम गरेर स्वदेश फर्किएका व्यक्ति हुन्। पर्यटन व्यबसायी समेत रहेका उनी रास्वपाका सस्थापक मध्येका एक अगुवा हुन्। अघिल्लो संसदका समानुपातिक सांसद उनी दुई पटक श्रम मन्त्री बनिसकेका व्यक्ति हुन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ९ बाट निर्वाचित उनी निर्विरोध सभामुख निर्वाचित भएका छन्। जसको घोषणा आगामी आईतबार गरिनेछ।