ओली र लेखकको पाँच दिने म्याद आजै सकिने, आज म्याद थप हुन्छ कि हुँदैन ? 

बिहीबार, चैत १९, २०८२

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ ।

शनिबार (चैत १४) गते पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो । पहिलोपटकको म्याद बिहीबार (चैत १९) सकिने भएछि दोस्रोपटक म्याद थप्ने तयारी गरिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दुवैजनाको म्याद आज थप्ने तयारी भएको बताए । प्रहरीले लेखकलाई म्याद थपका लागि अदालत पेस गर्ने जनाएको छ । 

ओलीलाई उनको स्वास्थ्यावस्थाका कारण भर्चुअल रूपमा उपस्थित गराइने तयारी प्रहरीको छ । ओली मृगौलासम्बन्धी रोगका कारण महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएका छन् ।

पहिलोपटकको म्याद थप गर्दा पनि प्रहरीले लेखकलाई अदालत हाजिर गराएको थियो भने ओली भर्चुअल रूपमा उपस्थित भएका थिए । लेखक भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा छन् । 

शनिबार पक्राउ परेका लेखकको बुधबारबाट बयान सुरु भएको छ । ओलीको अझै बयान लिइएको छैन । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्