खटाएको ठाउँमा जान अटेर गर्ने कर्मचारीलाई घर बस्न सामान्य मन्त्रीको ठाडो चेतावनी

मंगलबार, चैत १७, २०८२

सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मंगलबार ६ जना सहसचिवको सरुवा गरेको छ ।

यसअघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौं बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छन् ।

मन्त्री रावलले भनिन्, 'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।'

मन्त्रालयले यसअघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ । अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्