सोसल मिडिया
युनिकोड
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले नाम परिवर्तन गरिएको ‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको भनिएको बलात्कार आरोपमा उनीहरूमाथि अभियोग दर्ता गरेको हो।
चौधरीले भने आफू निर्दोष रहेको दाबी गर्दै कानुनी प्रक्रियामार्फत सत्य बाहिर ल्याउने बताएका छन्।
यस प्रकरणमा कमलेशरण चौधरी, राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध पनि मुद्दा चलाइएको छ। यादव भने हाल थुनछेकका लागि रुपन्देही कारागारमा रहेका छन्।
पीडित पक्षका अनुसार, २०८१ असोज ६ गते भएको भनिएको घटनामा उनीहरूको संलग्नता रहेको भन्दै युवतीले किटानी जाहेरी दर्ता गराएकी थिइन्।
यसअघि पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा अध्यक्ष चौधरी साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। तर पछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै उनलाई उन्मुक्ति दिएको थियो।
०७९ सालको स्थानीय तह निर्वाचनमा चौधरीले लोसपाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।
पूरक जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले सुरुआतमा मुद्दा अघि नबढाएपछि पीडितले जिल्ला अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि अदालतको आदेशअनुसार प्रहरीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो।
उता, अध्यक्ष चौधरीले भने आफूमाथि लगाइएको आरोप असत्य भएको दाबी गरेका छन्।
एक पारिवारिक विवादका क्रममा आफूले भनेअनुसार बयान नदिँदा योजनाबद्ध रूपमा आफूलाई झुटा मुद्दा लगाइएको उनको दाबी छ।
उनले आफूविरुद्ध चरित्रहत्या र ज्यानको जोखिमसमेत सिर्जना गरिएको गुनासो पनि गरेका छन्। ‘यदि दोषी ठहरिए सजाय भोग्न तयार छु, तर निर्दोष भए फसाउनेलाई कानुनी कारबाही हुनुपर्छ,’ उनले भने।