एमाले सचिव महेशले बालेन सरकारलाई दिए यस्तो चेतावनी 

शुक्रबार, चैत १३, २०८२

नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिएकाे छ । एमालेका सचिव बस्नेतले सामाजिक सञ्जालमा लेख्दै शाह नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकमै जेन–जी घटना जाँचबुझका लागि गठित कार्की आयोगको प्रतिवेदनबारे निर्णय गरेकाेप्रति विराेध जनाएका हुन् । 

बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन गर्ने सरकारको कुटिल र षडयन्त्रपूर्ण निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने बताए । उनले सबै पक्षको निष्पक्ष अनुसन्धानबिना चालिने कुनै पनि कदम पूर्वाग्रहपूर्ण हुने बताए ।

सरकारले कार्की आयोगको प्रतिवेदन कार्यन्यवनका लागि सुरक्षाकर्मीको हकमा अर्को कार्यदल बनाएर अध्ययन गर्ने तर राजनीतिक व्यक्तिलाई कारबाही अघि बढाउने निर्णयले कुटिल षडयन्त्रपूर्ण भएको बस्नेतको भनाइ छ । सरकारको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले यस्तो निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने उल्लेख गरे ।

'कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने, उसको पहिलो गाँसमै ढुंगा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ', बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् । 

सरकारको यस्तो पक्षपाती निर्णय पनि कुनै पनि हालतमा स्वीकार्न नसकिने उनको धारणा छ । ‘न्याय सबैका लागि समान हुनुपर्दछ अन्यथा यसको सशक्त प्रतिरोध अवश्य हुनेछ ।’

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्