मतदाताको व्यवहारमा आएको नयाँ ढाँचाले कांग्रेसलाई टाँका लागेको निस्कियो निचोड

आइतबार, चैत ८, २०८२

नेपाली काँग्रेसले हालै सम्पन्न निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित अध्ययनमार्फत मुल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। 

पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला यस विषयमा धारणा सार्वजनिक गरिएको हो।

बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले मतदाताको निर्णय प्रक्रियामा देखिएको परिवर्तनलाई केवल दल वा उम्मेदवारप्रतिको रोजाइभन्दा पनि परिस्थितिप्रतिको प्रतिक्रिया स्वरूप आएको मतको रूपमा व्याख्या गर्नुपर्ने बताएका छन्।

उनका अनुसार केही स्थानमा उम्मेदवारबारे पर्याप्त जानकारी नभए पनि मत प्राप्त हुनुजस्ता प्रवृत्तिले मतदाताको व्यवहारमा नयाँ ढाँचा देखिएको संकेत गर्छ।

मतदाताको मनोविज्ञानमा आएको यस्तो परिवर्तनलाई वर्तमान प्रणालीसँग जोडेर विश्लेषण नगरी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ। उनले मतदाताको व्यवहारगत प्रवृत्तिलाई वैज्ञानिक र वस्तुगत आधारमा अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीको दीर्घकालीन प्रभाव रहेका केही क्षेत्रमा यसपटक असर परेको निष्कर्ष निकाल्दै काँग्रेसले त्यस्ता क्षेत्र पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ। यसलाई ‘कोर्स करेक्सन’को रूपमा लिएर संगठनात्मक र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने पार्टीको धारणा रहेको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्