सोसल मिडिया
युनिकोड
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियानलगायत समूहमा आबद्ध युवाले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार (चैत ७) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा’, ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’, ‘जेनजीहरू नारामा, आमा उता रारामा’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी सहिद र घाइतेलाई अन्याय गर्न नपाइने उनीहरूले जनाएका छन् । जेनजी आन्दोलनको ‘ढाडमा टेकेर’ नेताहरू सांसद बने पनि त्यसको उद्देश्य अझै पूरा हुन नसकेको युवाले बताएका छन् ।
उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफूहरू नभएको भन्दै भदौ २३ र २४ का घटनामा दोषी देखिएकालाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि सार्वजनिक नगरिएकाले युवाले आशंका व्यक्त गरेका हुन् ।